ओली समुहले केन्द्रीय समितिको नयाँ सूची आजै आयोगमा बुझाउने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको केन्द्रीय कमिटीको नामावली आजै निर्वाचन आयोगसमक्ष बुझाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो बैठकपछि पार्टीका नयाँ प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी प्रथम अध्यक्ष र महासचिवका परामर्शमा बैठक आह्वान भएकाले यो आधिकारिक हुने जिकिर गर्दै विवाद भएमा आयोगले निधो गर्ने प्रतिक्रिया दिए ।

प्रवक्ता ज्ञवालीले पार्टी अहिलेसम्म विभाजन नभएको र अध्यक्ष ओलीले एकताका लागि गरिएका पहलबारे बैठकलाई जानकारी गराएको बताए । बैठकले मौजूदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय आयोजक कमिटी विस्तार गरेको थियो । अध्यक्ष ओलीले मौजूदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयनको प्रस्ताव गर्दा बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो ।

महासचिव विष्णुप्रसाद पौडेलले सञ्चालन र स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले स्वागत गरेको आजको बैठकले केन्द्रीय कमिटीको अर्को बैठक यही पुस ९ गते तय गरेको छ भने २०७८ मङ्सिर २ मा पार्टीको महाधिवेशन तोकेको छ ।

Facebook Comments