धुलिखेल उद्योग वाणिज्य संघको आग्रह बैंकको ब्याज मिनाह र साँवाको भाका थप होस्

काभ्रे – धुलिखेल उद्योग वाणिज्य संघले कोभिड–१९ का कारण जिल्लामा सञ्चालित उद्योग व्यवसायहरु धराशयी हुदै गएको भन्दै नेपाल सरकार समक्ष १६ बुँदे ज्ञापन पत्र बुझाएको छ । मंगलबार एक समारोहको बिच प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजुले बताए ।

उक्त ज्ञापन पत्रमा लकडाउन अवधिभरको बैंकको ब्याजमा मिनाह र साँवाको भाका कम्तीमा पनि ३ वर्षको थप गर्नका लागि आग्रह गरिएको छ । त्यसैगरी आसन्न नीति तथा कार्यक्रमभित्र व्यवसायीहरुका समस्याहरुलाई सम्बोधन गर्नको लागि प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री समक्ष माग गरिएको छ ।

धुलिखेल उद्योग वाणिज्य संघले यो विपद्को घडिमा व्यवसायीहरुको समस्याहरु मनन गर्दै के गर्दा सहज स्थिति सिर्जना गर्न सकिन्छ, सोही बमोजिम समर्पित हुने आशय ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले आफूले सम्बन्धित निकायसम्म व्यवसायीहरुका समस्या पु¥याउने र सानातिना सम्बोधन गर्न सकिने समस्याहरुलाई जिल्लाबाटै समाधान गरिने बताए । उक्त ज्ञापन पत्र बुझाउने क्रममा धुलिखेल उद्योग वाणिज्य संघसँग आबद्ध पर्यटन व्यवसायी, उद्यमी लगायत कार्यसमितिको उपस्थित रहेको थियो ।

 

Facebook Comments