कोरोनालाई जितेर थप ४३ जना डिस्चार्ज

वीरगन्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डबाट कोरोना निको भएर थप ४३ जना सोमबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ जना पत्रकारसमेत छन् ।

संक्रमितहरुको पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए । ‘सोमबार डिस्चार्ज हुनेमा एकजना सर्लाहीका बाहेक सबै पर्साका हुन्,’ उनले भने, ‘डिस्चार्ज हुने ४३ जनामा २ जना महिला छन् ।’

नारायणी अस्पतालको आइसोलेसन वार्डबाट आइतबार राति मात्रै करिब ११ बजे वीरगन्ज छपकैयाका एकै परिवारका १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । शनिबार ९ जना डिस्चार्ज भएका थिए । पछिल्लो ३ दिनमा नारायणी अस्पतालको आइसोलेसन वार्डका ७० जना कोभिड-१९ संक्रमित निको भएर घर फर्किएका छन् ।

सोमबार ४३ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा अब कोरोना संक्रमित छैनन् । गण्डक अस्पतालमा बनाइएको अस्थाई कोरोना अस्पतालमा २७ जना संक्रमितको उपचार भइरहेको छ ।

Facebook Comments