लिम्पियाधुरासहितको नेपाली भूमि फिर्ता ल्याएरै छाड्छौँ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा लिपुलेक र कालापानीसहितको नेपालको भुमि फिर्ता ल्याएरै छाडने बताएका छन् ।

प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कूटनीतिक माध्यमबाट वार्ता गरेर उक्त भूमि फिर्ता ल्याउने बताएका हुन् । उनले ठोस रूपमा कूटनीतिक प्रयास गर्ने समेत बताए । उनले नेपालको भूमि भारतले अकुपाइ र अर्घेल्याइँ गरेर विवादित बनाएको समेत बताए ।

‘भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि कालापनीमा जान ब्लक भयौं । त्यसबेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौं’, उनले भने ।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको समेत संसदमा बताए । उनले सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी गरेको बताए । ‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन’ उनले भने ‘यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’

प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिए । ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा त्यस्तो आकलन गर्नुु पनि अनौठाने होइन’ उनले भने ।

उनले नक्सा सार्वजनिक भोलिसम्ममा गरिने पनि बताए । संविधानमा प्रतिक चिह्न संशोधनका लागि पनि प्रस्तुत गरिने प्रधानमन्त्रीले बताए ।

Facebook Comments